हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गर्दै समूह विजेताको उपाधि हात पारेको छ। ११२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ६ ओभरमा ५ विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो। नेपालका लागि प्रतिस जिसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए।
नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ६ ओभरमा २ विकेटको क्षतिमा १११ रनको विशाल योगफल खडा गर्यो। यस खेलमा सन्दीप जोराले विस्फोटक प्रदर्शन गर्दै अर्धसतक पूरा गरे। लोकेश बमले पनि १३ बलमा आक्रामक ३३ रन बनाएर टिमलाई सशक्त स्थितिमा पुर्याए। अस्ट्रेलियाका ज्याक हुडले २ विकेट लिएर बलिङतर्फ योगदान दिए।
नेपालले यसअघि इंग्ल्यान्डलाई ६ विकेटले हराउँदै उत्कृष्ट प्रदर्शन गरेको थियो। यो जितपछि नेपालले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। समूह विजेता बनेको नेपाल आजै श्रीलंकासँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दैछ।