कम्बोडियामा गैरकानुनी रूपमा बसिरहेका तथा अनलाइन ठगी जस्ता आपराधिक गतिविधिमा संलग्न गराइएका २० जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याइएको हो।
उद्धार गरिएका नेपालीहरू विभिन्न प्रलोभनमा परी भ्रमण भिसामा कम्बोडिया पुगेका थिए। त्यहाँ पुगेपछि उनीहरूलाई ‘अनलाइन स्क्यामिङ’ केन्द्र तथा क्यासिनोहरूमा जबर्जस्ती काम लगाइएको थियो। कतिपयलाई अन्य गैरकानुनी गतिविधिमा समेत प्रयोग गरिएको खुलेको छ।
दूतावासका अनुसार यस्ता केन्द्रहरूमा काम गर्नेहरूको राहदानी कम्पनीले जफत गर्ने, वा स्थानान्तरणका क्रममा हराउने समस्या व्यापक रूपमा देखिएको छ। यस्तो अवस्थामा स्वदेश फर्कन चाहनेहरूलाई बैंककस्थित नेपाली दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउँदै आएको छ।
पछिल्ला वर्षहरूमा कम्बोडिया जाने नेपालीहरूको संख्या उल्लेख्य रूपमा बढेको तथ्यांकले देखाएको छ, जसले जोखिम पनि बढाएको छ। दूतावासले वैदेशिक रोजगारीका लागि अनिवार्य रूपमा श्रम स्वीकृति लिएर मात्र जान र छिटो पैसा कमाउने प्रलोभनमा नपर्न सबैलाई सचेत गराएको छ।
विशेषगरी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता देशहरूमा भ्रमणको नाममा काम गर्न जाँदा जोखिम उच्च हुने भएकाले सचेत रहन आग्रह गरिएको छ।