जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको छ। पार्टीले देशभरका मातहत समितिहरूलाई सर्कुलर जारी गर्दै तोकिएको समयसीमाभित्र उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन दिएको हो।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार संसदीय निर्वाचन क्षेत्र समन्वय समितिहरूले पुस २० गतेभित्र उम्मेदवारको नाम केन्द्रीय कार्यालय वा पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा रहेको संघीय संसदीय बोर्डमा पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ। प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने सर्कुलरमा उल्लेख छ।

निर्देशनअनुसार, पुस १० गतेसम्म जिल्ला समितिमा उम्मेदवारहरूको नाम संकलन गरिनुपर्नेछ भने जिल्ला समितिले आवश्यक निर्णयसहित पुस १५ गतेभित्र प्रदेश समितिमा ती नामहरू पठाउनुपर्नेछ। त्यसपछि प्रदेश समितिले प्राप्त नाममाथि छलफल गरी अन्तिम रायसहित पुस २० गतेभित्र केन्द्रीय तहमा पठाउनुपर्नेछ।

प्रत्यक्ष निर्वाचनसँगै समानुपातिक प्रणालीतर्फको उम्मेदवार छनोट प्रक्रिया पनि स्पष्ट रूपमा तय गरिएको छ। प्रचार विभाग प्रमुख बस्नेतका अनुसार प्रत्येक जिल्लाबाट कम्तीमा तीन पुरुष र तीन महिला उम्मेदवारको नाम, जातीय क्लस्टरअनुसार समावेशी ढंगले, पुस १ गतेभित्र प्रदेश समितिमा पठाउनुपर्नेछ। प्रदेश समितिले ती नामहरूमाथि छलफल गरी आफ्नो सुझावसहित पुस ५ गतेभित्र केन्द्रीय कार्यालय वा संघीय संसदीय बोर्डमा सिफारिस गर्नुपर्ने व्यवस्था छ।

यदि तोकिएको समयसीमाभित्र कुनै पनि कारणले उम्मेदवारको नाम केन्द्रीय कार्यालय वा संसदीय बोर्डमा नपुगेमा, संघीय संसदीय बोर्डले आफैं उम्मेदवार चयन गरी मनोनयन गर्न सक्ने अधिकार राख्ने पनि सर्कुलरमा स्पष्ट गरिएको छ। साथै, उम्मेदवार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिले गरेका निर्णयहरूको बैठक निर्णय पुस्तिकाको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

पार्टी विधानको धारा ११७ को उपधारा (३) अनुसार योग्यता पूरा गरेका कुनै पनि संगठित पार्टी सदस्यले प्रत्यक्ष वा समानुपातिक दुवै तर्फ उम्मेदवार बन्न चाहेको खण्डमा सिधै केन्द्रीय कार्यालय वा संघीय संसदीय बोर्डमा आवेदन दिन सक्ने व्यवस्था पनि खुला गरिएको छ। यस्ता आवेदनहरूमा सम्बन्धित जिल्ला र प्रदेश समितिसँग परामर्श गरी अन्तिम निर्णय संसदीय बोर्डले गर्नेछ।

जसपा नेपालले स्पष्ट पारेको छ कि प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम टुंगो संघीय संसदीय बोर्डले नै लगाउनेछ।