भारतको पश्चिम बंगालस्थित कोलकाताको तारातला क्षेत्रमा निर्माणाधीन गोदाम भत्किँदा पाँच मजदुरको मृत्यु भएको छ। घटनापछि उद्धार कार्य जारी रहँदा प्रहरीले संरचनागत इन्जिनियरसहित दुई जनालाई पक्राउ गरेको छ।
बुधबार दिउँसो ट्रान्सपोर्ट डिपो रोडस्थित निर्माणाधीन गोदाम एक्कासि भत्किएपछि दर्जनौं मजदुर भग्नावशेषमा पुरिएका थिए। घटनास्थलमा करिब ५० देखि ६० जना मजदुर काम गरिरहेको प्रारम्भिक जानकारीमा उल्लेख छ।
उद्धार टोलीले हालसम्म धेरै मजदुरलाई सुरक्षित बाहिर निकालेको छ भने घाइतेहरूको कोलकाताको सरकारी एसएसकेएम मेडिकल कलेज तथा अस्पतालमा उपचार भइरहेको छ। भग्नावशेषभित्र फसेका केही मजदुरसँग सम्पर्क कायम गरिएको उद्धार अधिकारीहरूले बताएका छन्। उनीहरूलाई अक्सिजन, पानी तथा आवश्यक खाद्य सामग्री उपलब्ध गराउँदै सुरक्षित उद्धार गर्ने प्रयास जारी छ।
घटनालगत्तै भारतीय सेनाको इस्टर्न कमाण्डका चार टोली, राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ), राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ), दमकल, कोलकाता प्रहरी तथा नागरिक सुरक्षा टोली संयुक्त रूपमा उद्धार अभियानमा खटिएका छन्। भारी कंक्रिट र फलामका संरचना काटेर मजदुरसम्म पुग्ने प्रयास भइरहेको छ।
पश्चिम बंगालका मुख्यमन्त्री सुवेन्दु अधिकारी घटनास्थलमा पुगेर अवस्थाको निरीक्षण गरेका छन्। उनले घटनाबारे कोलकाता नगर निगम (केएमसी) ले विस्तृत प्रतिवेदन तयार गर्ने जानकारी दिएका छन्। साथै, विधानसभामा घटनाबारे विस्तृत विवरण प्रस्तुत गरिने बताएका छन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानपछि भारतीय न्याय संहिता (बीएनएस) का सम्बन्धित दफाअन्तर्गत मुद्दा दर्ता गरिएको छ। उक्त मुद्दामा संरचनागत इन्जिनियर कमल सामन्त र सैयद एमडी गुलजारलाई पक्राउ गरिएको छ भने अन्य आरोपितमाथि पनि अनुसन्धान भइरहेको छ।
घटनाको विस्तृत अनुसन्धानका लागि कोलकाता प्रहरीको डिटेक्टिभ विभागको नेतृत्वमा विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको छ। टोलीले निर्माण प्रक्रिया, सुरक्षाका मापदण्ड र सम्भावित लापरबाहीबारे अनुसन्धान गर्ने जनाएको छ।
यस घटनापछि मुख्यमन्त्री अधिकारीले कोलकाता नगर निगम क्षेत्रभित्रका सबै निर्माण कार्यमा अस्थायी रोक लगाउने घोषणा गरेका छन्। आगामी जुलाई ३१ सम्म सबै निर्माणस्थलको सुरक्षा परीक्षण (अडिट) सम्पन्न भएपछि मात्रै निर्माण कार्य सञ्चालन गर्न अनुमति दिइने उनले बताएका छन्।
घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।