जापानमा जापानी घट्दै, विदेशी बासिन्दा तीव्र रूपमा बढ्दै

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
जापानमा जापानी घट्दै, विदेशी बासिन्दा तीव्र रूपमा बढ्दै

जन्मदर घट्दै जानु र वृद्ध जनसंख्या बढ्नु जापानका लागि नयाँ समस्या होइन। तर सन् २०२५ को जनगणनाले यो चुनौती अझ गहिरिँदै गएको देखाएको छ। पाँच वर्षमै देशको कुल जनसंख्या ३१ लाख ७० हजारले घट्दा विदेशी बासिन्दाको संख्या भने झन्डै ४० प्रतिशतले बढेको छ।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अन्तिम जनगणना नतिजाअनुसार सन् २०२५ अक्टोबर १ मा विदेशी नागरिकसहित देशको जनसंख्या १२ करोड २९ लाख ७२ हजार ५२८ थियो। सन् २०२० को तुलनामा यो २.५ प्रतिशत कम हो।

विज्ञापन
khoj2

हरेक पाँच वर्षमा गरिने जनगणनामा जापानको जनसंख्या घटेको यो लगातार तेस्रोपटक हो। जापानमा राष्ट्रिय जनगणना सन् १९२० देखि हुँदै आएको छ।

समग्र जनसंख्या घटिरहँदा जापानी नागरिकको संख्यामा आएको कमी अझ तीव्र देखिएको छ। पाँच वर्षमा जापानी नागरिकको संख्या ३.५ प्रतिशत घटेर करिब ११ करोड ९१ लाखमा सीमित भएको छ। अघिल्लो जनगणनामा यस्तो गिरावट १.४ प्रतिशत थियो।

यसको ठीक विपरीत विदेशी बासिन्दाको संख्या उल्लेख्य रूपमा बढेको छ। सन् २०२५ मा जापानमा ३८ लाख ४० हजार ३९ विदेशी बासिन्दा रहेको जनगणनाले देखाएको छ। यो पाँच वर्षअघिको तुलनामा १० लाख ९३ हजार ५२५ अर्थात् ३९.८ प्रतिशत बढी हो।

विदेशी समुदायमध्ये चिनियाँ नागरिकको हिस्सा सबैभन्दा ठूलो छ। उनीहरूले कुल विदेशी जनसंख्याको २४ प्रतिशत हिस्सा ओगटेका छन्। भियतनामी नागरिकको हिस्सा १५.९ प्रतिशत पुगेको छ भने दक्षिण र उत्तर कोरियाली नागरिकको संयुक्त हिस्सा १०.४ प्रतिशत छ।

पाँच वर्षमा विदेशी समुदायको संरचनासमेत बदलिएको देखिन्छ। सन् २०२० मा दक्षिण तथा उत्तर कोरियाली नागरिकको हिस्सा १५.८ प्रतिशत हुँदा भियतनामीको हिस्सा १३.९ प्रतिशत थियो। पछिल्लो जनगणनामा भियतनामी समुदाय उनीहरूभन्दा अगाडि पुगेको छ।

विदेशी जनसंख्या बढ्नुमा भियतनामीसँगै नेपाली बासिन्दाको संख्या बढ्नुले पनि योगदान गरेको तथ्यांकले देखाएको छ।

जनसंख्या टोकियोतिर थप केन्द्रित

देशको अधिकांश भूभागमा जनसंख्या घटिरहेका बेला टोकियो अपवाद बनेको छ। जापानका ४७ प्रिफेक्चरमध्ये सन् २०२० देखि २०२५ को अवधिमा जनसंख्या बढेको एकमात्र प्रिफेक्चर टोकियो हो। यद्यपि त्यहाँको वृद्धिदर पनि अघिल्लो जनगणनाको तुलनामा सुस्त भएको छ।

अघिल्लो अवधिमा जनसंख्या बढेका साइतामा, चिबा, कानागावा, आइची, शिगा, फुकुओका र ओकिनावा यसपटक घट्दो सूचीमा परेका छन्। अन्य ३९ प्रिफेक्चरमा पनि जनसंख्या घटेको छ र तीमध्ये धेरैमा गिरावट अघिल्लो पाँच वर्षको तुलनामा तीव्र देखिएको छ।

अर्कोतर्फ जनसंख्याको टोकियो महानगर क्षेत्रमा हुने केन्द्रीकरण अझ बढेको छ। जापानको कुल जनसंख्याको ३०.१ प्रतिशत अहिले यही क्षेत्रमा बस्छ। जनगणनामा पहिलोपटक देशको ३० प्रतिशतभन्दा बढी जनसंख्या टोकियो महानगर क्षेत्रमा केन्द्रित भएको हो।

घरपरिवार बढे, एउटै घरमा बस्ने मानिस घटे

जापानमा मानिसको संख्या घटे पनि घरपरिवारको संख्या ५ करोड ७३ लाख पुगेको छ। यसको अर्थ परिवारको आकार भने सानो हुँदै गएको छ।

सन् २०२० मा एउटा घरपरिवारमा औसत २.२१ जना बस्ने गरेकामा अहिले त्यो संख्या २.१ मा झरेको छ।

औसत परिवार आकार सबैभन्दा ठूलो यामागातामा छ, जहाँ एउटा घरमा औसत २.४१ जना बस्छन्। टोकियोमा भने यो संख्या १.८५ मात्रै छ।

घट्दो जन्मदर, वृद्ध हुँदै गएको समाज, सानो बन्दै गएको परिवार र ठूला सहरमा बढ्दो जनसंख्या केन्द्रीकरणका बीच विदेशी बासिन्दाको तीव्र वृद्धिले जापानको जनसांख्यिक स्वरूप क्रमशः बदलिँदै गएको पछिल्लो जनगणनाले देखाएको छ।

टोयामाको तथ्यांकमाथि प्रश्न

देशव्यापी जनगणनाले महत्वपूर्ण जनसांख्यिक तस्वीर सार्वजनिक गरेकै बेला टोयामा सहरको गणनालाई लिएर भने विवाद देखिएको छ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार मध्य जापानको टोयामा सहरमा जनसंख्या कम्तीमा दुई हजारले बढी देखाइएको हुन सक्ने आशंका छ। जनसंख्या बढी देखाउन सर्वेक्षण फाराम पुनः लेखिएको र त्यसमा सहरका एकभन्दा बढी अधिकारी संलग्न हुन सक्ने आशंका गरिएको छ।

जनगणना कर्मचारीले कुनै सम्पत्तिमा मानिस बसिरहेको संकेत नदेखिएको विवरण दिए पनि पर्याप्त आधारबिना त्यहाँ परिवार रहेको मानिएको हुन सक्ने मन्त्रालयको भनाइ छ।

यस विषयमा मन्त्रालयले तथ्यांक ऐन उल्लंघनको आरोपमा टोयामा प्रहरीसमक्ष एक अज्ञात अधिकारीविरुद्ध उजुरी दिएको छ। जनगणनासँग सम्बन्धित विषयमा मन्त्रालयले प्रहरीमा यस्तो उजुरी दिएको यो पहिलोपटक हो।

अन्तिम जनगणना नतिजामा टोयामा सहरको जनसंख्या ३ लाख ९९ हजार १९७ कायम गरिएको छ। यो यसअघि मेमा सार्वजनिक प्रारम्भिक तथ्यांकभन्दा २ हजार ९३६ कम हो।

जापानमा जनगणनाको महत्व जनसंख्या कति छ भन्ने गणनामै सीमित छैन। केन्द्र र स्थानीय सरकारले घट्दो जन्मदरको सामना गर्ने नीति, क्षेत्रीय तथा औद्योगिक विकासका योजना बनाउन यसको तथ्यांक प्रयोग गर्छन्। प्रतिनिधिसभाका एकल निर्वाचन क्षेत्रको सीमा निर्धारणमा समेत यही तथ्यांक आधार बन्ने भएकाले टोयामामा देखिएको विवादले जनगणनाको शुद्धता र विश्वसनीयताको प्रश्नलाई पनि सार्वजनिक बहसमा ल्याएको छ।