बाढीको क्षतिपछि मन्त्री श्रेष्ठले रद्द गरे कोरिया भ्रमण
भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीले ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले दक्षिण कोरियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका छन्। विपद्पछिको खोज तथा उद्धारसँगै क्षतिग्रस्त संरचना पुनःस्थापना र विद्युत् आपूर्ति नियमित गर्ने काम तत्कालको प्राथमिकता बनेपछि मन्त्री श्रेष्ठले स्वदेशमै रहने निर्णय गरेका हुन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीबाट प्रभावित क्षेत्रमा अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। यस्तो अवस्थामा खोज तथा उद्धारमा आवश्यक समन्वय गर्ने र ऊर्जा क्षेत्रमा देखिएको संकट व्यवस्थापनलाई गति दिने जिम्मेवारीलाई ध्यानमा राखेर भ्रमण रद्द गरिएको हो।
बाढीले ऊर्जा क्षेत्रका विभिन्न संरचनामा क्षति पुर्याएको छ। अब क्षतिको अवस्था यकिन गर्दै प्रभावित संरचना सञ्चालनमा ल्याउने, अवरुद्ध वा प्रभावित विद्युत् आपूर्तिलाई नियमित र व्यवस्थित बनाउने तथा पुनर्निर्माणका काम अघि बढाउने चुनौती मन्त्रालयसामु छ।
विपद्बाट निजी क्षेत्रका ऊर्जा आयोजनासमेत प्रभावित भएकाले ती आयोजनाका प्रवर्द्धक तथा उद्यमीलाई आवश्यक सहजीकरण गर्ने विषय पनि मन्त्रालयको प्राथमिकतामा परेको छ। तत्कालीन पुनःस्थापनासँगै विपद्पछिको पुनर्निर्माण र ऊर्जा पूर्वाधारको पुनरुत्थानलाई तीव्र बनाउने तयारी रहेको मन्त्रालयले जनाएको छ।
मन्त्री श्रेष्ठ दक्षिण कोरियाको राजधानी सियोलमा सेप्टेम्बर १५ देखि १७ सम्म आयोजित ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा सहभागी हुने कार्यक्रम थियो। उनलाई सम्मेलनमा मुख्य वक्ताका रूपमा आमन्त्रण गरिएको थियो।
मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलगायतको टोली दक्षिण कोरिया जाने तय भएको थियो। उक्त भ्रमणका लागि मन्त्रिपरिषद्ले गत साउन १३ गते स्वीकृति दिएको थियो।
तर भ्रमणको समयमै देशभित्र प्राकृतिक विपत्तिले ऊर्जा पूर्वाधारमा गम्भीर असर पारेपछि मन्त्रालयको ध्यान प्रभावित क्षेत्रको तत्काल व्यवस्थापनतर्फ केन्द्रित भएको छ। मन्त्रालयका अनुसार अहिले खोज तथा उद्धारमा समन्वय, विद्युत् सेवा सामान्य बनाउने प्रयास र क्षतिग्रस्त ऊर्जा संरचनाको पुनःस्थापना तथा पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइनेछ।

