त्रिपुरेश्वर बस आगलागी : मृतकको पहिचानमा नयाँ अन्योल

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
त्रिपुरेश्वर बस आगलागी : मृतकको पहिचानमा नयाँ अन्योल

त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा ज्यान गुमाएका व्यक्तिको पहिचानमा नयाँ अन्योल देखिएको छ। घटनास्थलमा भेटिएको सवारी चालक अनुमतिपत्रका आधारमा सुरुमा प्रहरीले मृतक काभ्रेका २५ वर्षीय दावा लामा हुन सक्ने विवरण दिएको थियो। तर सोही नामका व्यक्ति सम्पर्कमा आएर आफू सकुशल रहेको बताएपछि प्रहरी वास्तविक मृतकको पहिचान यकिन गर्न थप अनुसन्धानमा जुटेको छ।

सोमबार दिउँसो त्रिपुरेश्वर बस स्टप नजिक रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। घटनामा एक व्यक्तिको जलेर मृत्यु भएको थियो।

विज्ञापन
khoj2

मृतकसँग भेटिएको लाइसेन्सका विवरणका आधारमा प्रारम्भिक पहिचान अघि बढाइएको थियो। तर लाइसेन्समा उल्लेख भएका दावा लामा जीवित रहेको जानकारी आएपछि घटनाले फरक मोड लिएको हो। मृतकसँग अर्कै व्यक्तिको लाइसेन्स कसरी पुग्यो भन्ने प्रश्नसमेत अनुसन्धानको विषय बनेको छ।

आफू नै लाइसेन्समा उल्लेख भएका दावा लामा भएको बताउने व्यक्तिलाई प्रहरीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बोलाएको छ। उनीसँग सोधपुछ भइरहेको एक प्रहरी अधिकृतले बताएका छन्। उनको बयान र उपलब्ध विवरणबाट लाइसेन्स मृतकसँग पुग्नुको कारण खुल्न सक्ने प्रहरीको अपेक्षा छ।

घटनाको अर्को महत्वपूर्ण पाटो बसमा आगो लाग्नुअघिको अवस्थासँग जोडिएको छ। उपलब्ध विवरणअनुसार आगलागी हुनुभन्दा केही समयअघि बस चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो। त्यसको केहीबेरपछि बसको पछिल्लो भागतिरबाट आगो फैलिएको देखिएको थियो।

आगलागी कसरी सुरु भयो, त्यसअघिको विवादसँग घटनाको कुनै सम्बन्ध छ वा छैन र बसभित्र मृत्यु भएका व्यक्ति वास्तवमा को हुन् भन्ने विषय अहिले अनुसन्धानकै क्रममा छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले घटनाको छानबिन भइरहेको जनाएको छ। अनुसन्धान पूरा नभएसम्म मृतकको पहिचान तथा आगलागीको कारणबारे प्रारम्भिक विवरणलाई अन्तिम निष्कर्षका रूपमा लिन नमिल्ने अवस्था देखिएको छ।