चर्चित हात्ती ‘रोनाल्डो’ करेन्ट लागेर मरेको पुष्टि
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा लामो समयदेखि देखिँदै आएको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’को करेन्ट लागेर मृत्यु भएको छ। बिसहजारी ताल नजिक कुमाल ताल आसपासको क्षेत्रमा शनिबार बिहान रोनाल्डो मृत भेटिएको हो।
प्रारम्भिक जानकारीअनुसार निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाको ब्यारेकतर्फ लगिएको विद्युत् लाइनको तारसँग सम्पर्क भएपछि रोनाल्डोलाई करेन्ट लागेको थियो। घटनास्थलमै उसको मृत्यु भएको बताइएको छ।
स्रोतका अनुसार उक्त क्षेत्रमा जमिनबाट करिब १५–१६ फिट उचाइमा विद्युत्को तार थियो। तार आसपास रहेको घाँस खान रोनाल्डोले तान्ने क्रममा घाँससँगै विद्युत्को तार पनि तल झरेको अनुमान गरिएको छ। बाहिरी भाग इन्सुलेसन गरिएको तार उसले मुखले चपाउँदा विद्युत् प्रवाह भएको र त्यसको असर मुख तथा जिब्रोमा परेको बताइएको छ।
मृत अवस्थामा भेटिँदा रोनाल्डोको मुख र जिब्रोको केही भाग जलेको जस्तो देखिएको स्रोतको भनाइ छ। यद्यपि घटनाको विस्तृत कारण र परिस्थितिबारे चितवन राष्ट्रिय निकुञ्जले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन।
रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जको जंगलमा देखिने परिचित जंगली भाले हात्तीमध्ये एक थियो। उसको मृत्युले वन्यजन्तुको आवागमन हुने क्षेत्रमा रहेका विद्युत् संरचनाको सुरक्षा र व्यवस्थापनमाथि पनि प्रश्न उठाएको छ। विशेषगरी संरक्षित क्षेत्रभित्र तथा त्यस आसपास विद्युत् लाइन लैजाँदा वन्यजन्तुसँग सम्भावित सम्पर्क रोक्ने व्यवस्था कति सुरक्षित थियो भन्ने विषय घटनापछि महत्त्वपूर्ण बनेको छ।
रोनाल्डोको मृत शरीरको पोस्टमार्टमपछि खाल्डो खनेर व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ। घटनाको आधिकारिक विवरण आएपछि मात्रै करेन्ट लाग्नुको यकिन परिस्थिति तथा त्यससँग जोडिएका अन्य पक्ष थप स्पष्ट हुनेछन्।

