बाढी–पहिरोका कारण कांग्रेस महाधिवेशनको मिति सर्दै

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
बाढी–पहिरोका कारण कांग्रेस महाधिवेशनको मिति सर्दै

देशका विभिन्न भागमा बाढी र पहिरोले सडक तथा आवागमन प्रभावित बनाएपछि नेपाली कांग्रेसले १५औँ महाधिवेशनको पूर्वनिर्धारित मिति केही दिन पछाडि सार्ने तयारी गरेको छ।

असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका रहे पनि प्राकृतिक विपद्का कारण विभिन्न जिल्लाबाट काठमाडौं आउने महाधिवेशन प्रतिनिधिलाई समस्या पर्ने देखिएपछि मिति हेरफेरबारे पार्टीभित्र छलफल भइरहेको हो।

विज्ञापन
khoj2

कांग्रेसका एक शीर्ष पदाधिकारीका अनुसार महाधिवेशन लामो समय धकेल्नेभन्दा पनि पाँच–छ दिनभित्रै नयाँ मिति तय गर्ने विषयमा छलफल केन्द्रित छ। अहिले असोज १९ गतेबाट महाधिवेशन सुरु गर्ने वा २१ गतेसम्म सार्ने भन्ने विकल्पमा नेताहरू छलफल गरिरहेका छन्।

बाढी र पहिरोले कतिपय स्थानमा सडक अवरुद्ध हुनुका साथै घर तथा अन्य संरचनामा क्षति पुगेको अवस्थामा प्रतिनिधिलाई तत्काल काठमाडौं बोलाउनु व्यावहारिक नहुने पार्टी नेतृत्वको बुझाइ छ। विपद्को समयमा महाधिवेशनभन्दा नागरिकको सुरक्षा र प्रभावित क्षेत्रको अवस्था प्राथमिक विषय भएको नेताहरूले बताएका छन्।

महाधिवेशनको मिति सार्ने तयारी भइरहँदा कांग्रेसभित्र भने १५औँ महाधिवेशनकै विषयलाई लिएर मतभेद कायमै छ।

संस्थापन पक्ष अहिले देशभर वडा तथा क्षेत्रीय तहका अधिवेशन अघि बढाइरहेको छ। यही प्रक्रियालाई निरन्तरता दिँदै केही दिनको समायोजनपछि केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने तयारी संस्थापन पक्षको छ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष भने फरक कार्यतालिकासहित अघि बढेको छ। उक्त समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरिरहेको छ भने वडा अधिवेशन असोज १५ गतेका लागि तय गरेको छ।

यसरी एकातिर प्राकृतिक विपद्का कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ भने अर्कोतिर महाधिवेशनको समय र प्रक्रियालाई लिएर पार्टीभित्रै फरक धार देखिएको छ। अब संस्थापन पक्षले महाधिवेशनको नयाँ मिति कहिले तय गर्छ भन्ने विषयसँगै कांग्रेसभित्रको आन्तरिक विवाद कसरी व्यवस्थापन हुन्छ भन्नेमा पनि चासो बढेको छ।