देशभर भारी वर्षाः कहाँ–कहाँ कस्तो प्रभाव?
पछिल्लो २ दिनदेखि लगातार परेको पानीका कारण नारायणी नदीको बहाव अत्यधिक बढेपछि सुस्तामा एकैपटक १७० भन्दा बढी घर डुबानमा परेका छन् भने, ४०० भन्दा बढीलाई उद्धार गरी होल्डिङ सेन्टरमा राखिएको छ ।
सर्वसाधारणका घरसँगै खेतीबाली अनि नेपाल प्रहरीको कार्यालय र सशस्त्र बलको BOP समेत डुबानमा परेको छ ।
लामो समयदेखि नेपाल–भारतबीच यो स्थानलाई लिएर सीमा विवाद भइरहेको छ । यस्तै बेला नारायणी नदीको बाढी गाउँमा पस्न नदिनका लागि सुस्तामा नेपालीहरूले बाँध बनाउने गर्छन् तर सीमाको बहाना दिँदै भारतीय पक्ष आएर जहिल्यै ती बाँधहरू भत्काइदिने काम गर्छ ।
केही महिना अगाडि मात्रै पनि भारतीय आएर नेपालतर्फको बाँध भत्काइदिएका थिए, जसको फलस्वरूप आज सुस्ता पूर्ण रूपमा डुबानमा परेको छ । पश्चिम नवलपरासीका CDO धर्मेन्द्र नेपालका अनुसार सुस्ताको थारु टोल, पहाडिया टोल, सैनिक टोल तथा बड्का टोल जलमग्न भएका छन् ।
नदीले बस्तीनजिकैबाट करिब ५० देखि ६० मिटर क्षेत्रमा तीव्र कटान गरिरहेकाले गर्दा सिङ्गो बस्ती नै थप जोखिममा परेको छ । अब नेपालले चाँडै कूटनीतिक पहलबाट सुस्ताको सीमा विवाद भारतसँग समाधान गर्न नसक्ने हो भने केही वर्षमा सुस्ता पूरै किनारा नबन्ला भन्न सकिन्न ।
खैर, मौसम विभागले गरेको पूर्वअनुमान यो पछिल्लो २ दिन ठ्याक्कै मिलेको छ । हाल देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको छ ।
पाल्पाको अर्चले क्षेत्रमा मात्रै २४ घण्टामा २४५ मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । लगातार पानी परिरहेका कारण ठूला नदीको बहाव बढेको छ भने साना खोला आसपास आकस्मिक बाढी, तराईमा डुबान र पहाडी क्षेत्रमा पहिरोको जोखिम पनि बढेको छ ।
यता काठमाडौं उपत्यकाको भक्तपुरमा पनि लगातारको वर्षाले हनुमन्ते, खस्याङखुसुङ र गोदावरी खोलाको बहाव निकै बढेको छ ।
डेकोचा, पिखेल हुँदै चाँगुनारायण जाने सडकका केही भागमा सडकबाटै पानी बगेपछि आवतजावत प्रभावित भएको छ । बालकोट, कौशलटार, लोकन्थली र सागबारी क्षेत्रमा हनुमन्तेको पानी अस्थायी टहरासम्म पुगेपछि त्यहाँ बसिरहेका मानिसलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।
बोडे र मूलपानी जोड्ने पुलमा समेत क्षति पुगेपछि सवारी आवागमन रोकिएको छ ।
पाल्पामा भने भारी वर्षाले पहिरोको ठूलो जोखिम निम्त्याएको छ । रिब्दीकोट गाउँपालिका–६ धुस्तुङमा पहिरो खस्दा दुईवटा कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एक महिला बेपत्ता भएकी छन् ।
त्यस्तै सिद्धार्थ राजमार्गको सिद्धबाबा आसपास र अन्य स्थानमा ढुङ्गा तथा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । तिनाउ नदीको पानीसमेत सतर्कता तह पार गरेपछि बुटवल तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहन भनिएको छ ।
गण्डकीतर्फ बागलुङको निसीखोला–४ स्थित ठाडाखोलामा आएको लेदोसहितको बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनाएको छ । कास्कीको मार्दी खोलामा पनि पानीको सतह सतर्कता तह पार गरेको छ ।
उता लगातारको वर्षा र पहिरोले पृथ्वी राजमार्गका विभिन्न भाग प्रभावित भएका छन् भने काभ्रेतर्फ बीपी राजमार्गमा बनाइएका केही अस्थायी डाइभर्सन बाढीले बगाउँदा काठमाडौं जोड्ने मुख्य सडक सञ्जालमा समेत समस्या आएको छ ।
पूर्वतर्फ सप्तकोशीमा पनि पानीको बहाव तीव्र रूपमा बढेको छ । शुक्रबार कोशी ब्यारेजमा करिब २ लाख ४० हजार क्युसेक पानी मापन भएपछि ५६ मध्ये ३१ वटा ढोका खोलिएका थिए ।
झापामा कनकाई, बिरिङ र मेची नदीको जलसतह बढेपछि जोखिमयुक्त क्षेत्रमा साइरनसमेत बजाइएको थियो । गौरीगञ्ज र झापा गाउँपालिकाका गरी एक हजारभन्दा बढी घरपरिवार डुबानको जोखिममा रहेकाले प्रशासनले नदी किनार, तटबन्ध र जोखिमयुक्त बस्तीको ड्रोनबाट समेत निगरानी गरिरहेको छ ।
अब वर्षा अझै जारी रहने भएकाले नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, कास्की, बागलुङ, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसहित पश्चिम नेपालका धेरै जिल्लामा बाढी तथा डुबानको जोखिम कायमै रहेको छ ।

