जेन–जी आन्दोलनमा सुन्धारा कारागारबाट फरार राजकुमार श्रेष्ठ पक्राउ
जेन–जी आन्दोलनका क्रममा काठमाडौंको जगन्नाथदेवलस्थित सुन्धारा कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–९ स्थायी ठेगाना भएका ६० वर्षीय श्रेष्ठलाई प्रहरी टोलीले २०८३ असोज १३ गते काठमाडौं महानगरपालिका–३१, भिमसेनगोलाबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई कैद भुक्तानका लागि पुनः सुन्धारा कारागारमा बुझाइएको छ।
श्रेष्ठ कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भएका व्यक्ति हुन्। उनले २०६५ कात्तिक ११ गतेदेखि जगन्नाथदेवलस्थित कारागारमा सजाय भुक्तान गरिरहेका थिए।
तर २०८२ भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए। त्यसयता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकेर बस्दै आएको सूचना प्राप्त भएपछि उनको खोजी भइरहेको थियो।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भिमसेनगोलामा उनलाई फेला पारेर नियन्त्रणमा लिएको हो। पक्राउपछि आवश्यक प्रक्रिया पूरा गरी श्रेष्ठलाई कारागार कार्यालय सुन्धारामा पेश गरिएको प्रहरीले जनाएको छ।
यससँगै प्रहरीले अपराधमा संलग्न भई फरार रहेका वा लुकेर बसेका व्यक्तिबारे जानकारी भए सम्बन्धित निकायलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ। टोलछिमेकमा शंकास्पद रूपमा लुकेर बसेका फरार व्यक्तिबारे प्राप्त हुने सूचनाले पक्राउ तथा कानुनी कारबाहीमा सहयोग पुग्ने प्रहरीको भनाइ छ।

