नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले पार्टीभित्र महाधिवेशन प्रतिनिधि चयनको प्रक्रियामा देखिन थालेका तनाब र अस्वस्थ प्रतिस्पर्धाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले पछिल्ला दिनमा प्रतिनिधि छनोटका क्रममा ‘पाखुरा सुर्किने’ जस्ता व्यवहार देखिएको सुनिएको उल्लेख गर्दै यस्तो प्रवृत्ति पार्टी संस्कारका लागि हानिकारक हुने टिप्पणी गरेका छन्।
बाँस्कोटाले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै विगतका महाधिवेशनहरू विचार, नीति र विधिबारे खुला बहस हुने ठोस प्लेटफर्मका रूपमा याद रहने गरेको बताए। उनले आफू चौथो महाधिवेशनमा विशेष कार्यक्रम सफल पार्न युवा संरचनाले गरेको सहयोग सम्झँदै पाँचौँदेखि सातौँ बाहेक धेरै महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुने अवसर पाएको अनुभव पनि बाँडे।
तर अहिले भने प्रतिनिधिमैत्री छनोट प्रक्रियामा प्रतिस्पर्धा अस्वस्थ दिशातर्फ मोडिएको देखिनु चिन्ताजनक भएको उनको टिप्पणी छ। “महाधिवेशन प्रतिनिधि चयन जिम्मेवारी र विश्वासको विषय हो, शक्ति प्रदर्शनको होइन,” उनले भने।यसैबीच, एमालेको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म आयोजना हुँदैछ।
उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीमा हुनेछ भने बन्दसत्र भृकुटीमण्डपमा सञ्चालन गरिनेछ। महाधिवेशनका लागि विभिन्न जिल्लामा प्रतिनिधि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेका छन्। तर सबै जिल्लामा प्रक्रिया सहज देखिएको छैन।
ओखलढुंगा, सल्यान, दाङ, धनकुटा, डोटी, बर्दिया र बाँके लगायतका जिल्लामा प्रतिनिधि चयनलाई लिएर विवाद सतहमा आएको छ। केही स्थानीय तहहरूमा तीब्र असन्तुष्टि बढेपछि पार्टी केन्द्रले ओखलढुंगा र धनकुटामा प्रतिनिधि छनोट प्रक्रिया पुनः सुरु गर्न निर्देशनसमेत दिएको छ।
महाधिवेशन नजिकिँदै जाँदा एकातिर संगठनभित्र बहस, छलफल र वैचारिक तयारी तीव्र भइरहेको छ भने अर्कातिर आन्तरिक प्रतिस्पर्धाले केही ठाउँमा तनाब पनि बढाइरहेको देखिन्छ। पार्टी नेतृत्वले भने महाधिवेशनलाई संगठन विस्तार, एकता र आगामी राजनीतिक दिशानिर्देशनका लागि महत्वपूर्ण महत्वपूर्ण मोडका रूपमा हेरिएको जनाएको छ।