बझाङ – बझाङको केदारस्यूँ गाउँपालिका–१ रायलकी १६–१७ वर्षीया आकांक्षा मल्लले एसईई परीक्षा बिग्रिएको भन्दै आत्महत्या गरेकी छन्। शिक्षक तथा साहित्यकार पूर्ण मल्लकी छोरी आकांक्षा गर्जेपानी मावि रायलमा अध्ययनरत थिइन्।

स्थानीय स्रोतका अनुसार, मंगलबार अनिवार्य विज्ञान विषयको परीक्षा दिएर घर फर्किएकी उनले साँझ ५ बजेतिर आफ्नै घरमा झुन्डिएर ज्यान दिएकी हुन्। परीक्षा बिग्रिएको तनावले मानसिक रूपमा गहिरो प्रभाव पारेपछि उनले यस्तो कदम उठाएको आशंका गरिएको छ।

उनका बाबु सोही विद्यालयमा शिक्षक भएकाले पढाइमा उनी निकै मेहेनती र लगनशील छात्रा थिइन्। परीक्षामा असफल हुने डरले गहिरो मानसिक तनाव भोग्नु परेको अनुमान गरिँदैछ। यो घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। परीक्षाको दबावले विद्यार्थीमा पर्ने मानसिक प्रभावबारे थप ध्यान दिनु आवश्यक रहेको शिक्षाविद्हरूले बताएका छन्।