धनगढीबाट बझाङतर्फ जाँदै गरेको एक मिनी ट्रक डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा बुधबार बिहान दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४२८ नम्बरको खाद्यान्न तथा खुद्रा सामान बोकेको मिनी ट्रक बिहान ६:०५ बजे अनियन्त्रित भई करिब ५० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनामा परी मिनी ट्रक चालक बझाङको बुङ्गल नगरपालिका–२ निवासी ३३ वर्षीय अर्जुन धामी, ३४ वर्षीय उज्वल जाग्री र ४० वर्षीय जगत धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीका अनुसार ट्रकमा दैनिक उपभोग्य सामग्रीहरू लोड गरिएको थियो। दुर्घटनाको थप विवरण भने आउन बाँकी छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।