काठमाडौंमा आइतबार प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले प्रदर्शन गर्दै प्रधानमन्त्री शाहले संसद्मा दिएको सीमासम्बन्धी भनाइप्रति आपत्ति जनाएको हो।
संसद्मा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको केही भूमि मिचेको उल्लेख गरेका थिए। यही अभिव्यक्तिलाई लिएर विद्यार्थी संगठन सडकमा उत्रिएको हो।
प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हितविपरीत भएको आरोप लगाए। माइतीघर क्षेत्रमा विभिन्न नारासहित विरोध जनाइएको थियो।
- ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’ लगायतका नारा प्रदर्शनमा सुनिएका थिए।
- संगठनले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ।
- सीमासम्बन्धी विषय संवेदनशील भएकाले जिम्मेवार पदमा रहेका व्यक्तिले तथ्य र प्रमाणका आधारमा मात्रै बोल्नुपर्ने उनीहरूको भनाइ छ।
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिपछि राजनीतिक तथा सामाजिक वृत्तमा समेत चर्चा सुरु भएको छ। सीमाका विषयमा उठेको विवाद र त्यसबारे सरकारको आधिकारिक धारणा के हुने भन्ने चासो बढिरहेको छ।