११० किलो गाँजासहित सिरहाबाट तीन जना पक्राउ
नेपालबाट भारततर्फ लैजान लागिएको ठूलो परिमाणको गाँजासहित सिरहामा तीन जना पक्राउ परेका छन्। सीमावर्ती औरही गाउँपालिका क्षेत्रबाट सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम गाँजा बरामद गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनापछि शुक्रबार राति औरही गाउँपालिका–१ दरैया क्षेत्रमा निगरानी बढाइएको थियो। राति करिब १ः३५ बजे गाँजा बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको उनले बताए।
सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा परिचालित १५ जनाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूले टाउकोमा बोकेका ६ वटा बोराबाट गाँजा बरामद गरेको जनाएको छ। तौल गर्दा बरामद गाँजाको परिमाण ११० किलो ७६० ग्राम रहेको खुलेको छ।
पक्राउ पर्नेमा औरही गाउँपालिका–२ देउरीपट्टीका ४३ वर्षीय मिश्रीलाल सदाय र ३१ वर्षीय मनिकलाल सदाय तथा धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव छन्।
उनीहरूको साथबाट तीन थान मोबाइल फोनसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
एसपी थापाका अनुसार पक्राउ परेका तीनै जनालाई बरामद गाँजा र मोबाइलसहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

