काठमाडौं महानगरपालिकाका सरसफाई कर्मचारीहरू विगत तीन महिनादेखि तलब नपाएपछि मेयर बालेन शाहले सरकारलाई कडा चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत कडा शब्दमा प्रतिक्रिया दिंदै उनले एक हप्ताभित्र सफाई कर्मचारीको तलब नआए “सबैलाई टुकुचामा गाड्ने” चेतावनी दिएका छन्।
बालेनले स्टाटसमा लेखेका छन्, “को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु! त्यो पछी हेरौँला तिमीहरूको के के तन्त्र हो!!”
काठमाडौं महानगरका सफाई कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएको गुनासो गर्दै आएका छन्। तर, सरकारले समस्या समाधानका लागि कुनै ठोस कदम चालेको छैन। यही विषयमा आक्रोशित हुँदै बालेनले सरकारको ढिलासुस्तीप्रति आक्रोश पोखेका हुन्।
बालेनको चेतावनीपछि सफाई कर्मचारीहरूले अब आफूहरूको तलब आउने आशा व्यक्त गरेका छन्। तर, सरकार वा सम्बन्धित निकायबाट हालसम्म औपचारिक प्रतिक्रिया आएको छैन।
अब, बालेनले दिएको एक हप्ताको अल्टिमेटमभित्र सरकारको प्रतिक्रिया आउँछ कि आन्दोलनको नयाँ चरण सुरू हुन्छ? सबैको ध्यान यसैमा छ।