नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले भैरहवा कारागारमा आफूलाई ‘गोलघरमा जस्तै गरी राखिएको’ अनुभव सुनाएका छन्। लामिछानेसँग भेटेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारहरुसँग कुरा गर्दै भने, “उहाँको भाषामा भन्नु हो भने, भैरहवामा झन्डै गोलघरमा जस्तै गरी राखियो रे। उहाँले धेरै ठूलो पीडा सहेको बताउनुभयो।”

प्रचण्डका अनुसार भैरहवा बस्दाको जटिल अवस्था लामिछानेको अनुहारमै प्रस्ट देखिएको छ। उनले भने, “भैरहवामा रहँदा उहाँ दुब्लिनु भएको रहेछ, अनुहारमै थकाइ झल्किएको छ।” तर नख्खु कारागारको व्यवस्था भने तुलनात्मक रूपमा सहज भएको लामिछानेले बताएका छन्। खानपान र बसाइ भैरहवाभन्दा राम्रो रहेकाले व्यवस्थापनको प्रसंसा गरेको प्रचण्डले जानकारी दिए।