काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हमासद्वारा बन्धक बनाइएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई पहल गरिदिन आग्रह गर्नुभएको छ ।
मङ्गलबार राजा अब्दुल्लालाई पठाइएको पत्रमा राष्ट्रपति पौडेलले जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फर्काउन सकिने सबै मानवीय र कूटनीतिक कदम चालिदिन आग्रह गर्नुभएको छ । पत्रमा उहाँले “यस प्रयोजनका लागि जोर्डनले गर्ने प्रत्येक पहललाई नेपाल र नेपाली जनताले उच्च सम्मान गर्नेछन्” भनेर उल्लेख गर्नुभएको छ ।
यसअघि आइतबार विपिनका आमा र बहिनीले राष्ट्रपति भवन शीतलनिवासमा भेट गरी विपिनको छिट्टै रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले आफू निरन्तर प्रयासरत रहेको र अझ सशक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।