धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन्। बम विस्फोटको घटनामा फरार रहेका लामालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँको कपनबाट पक्राउ गरी पाँचथर पठाएको जनाएको छ।

२०८१ भदौ १४ गते पाँचथरमा भएको बम विस्फोटको घटनामा एक बालिकाको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए। उक्त घटनामा लामाको संलग्नता रहेको आरोपमा उनीविरुद्ध विस्फोटक पदार्थसम्बन्धी मुद्दा दायर गरिएको थियो।

प्रहरीका अनुसार लामालाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन पाँचथर पठाइएको हो। घटनाबारे अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण संकलनपछि थप कारबाही गरिने प्रहरीको भनाइ छ।