काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले साइबर अपराध नियन्त्रणमा थप तदारुकता देखाएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सामाजिक सञ्जाल तथा अनलाइन माध्यममा व्यक्ति, संस्था र समूहहरूले गर्ने पोस्ट तथा सूचनाको तथ्यपरकता जाँच गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन साइबर ब्युरोलाई स्पष्ट निर्देशन दिनुभएको हो।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले गृहमन्त्री अर्यालको निर्देशन अनुसार तथ्यहीन, भ्रामक तथा कानुन विपरीतका पोस्ट गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न साइबर ब्युरो प्रमुखलाई निर्देशन दिइएको जानकारी दिनुभयो। उहाँका अनुसार सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि ब्युरोले आफैं सक्रिय भएर सूचनाको अनुगमन, अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछ।
गृहमन्त्री अर्यालले साइबर अपराध, अफवाह र गलत सूचनाले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै त्यसलाई रोक्न सरकार गम्भीर रहेको समेत बताउनुभएको छ।