नेकपा एमालेभित्र नेतृत्व संरचना विस्तारको विषयलाई लिएर आन्तरिक असन्तुष्टि सतहमा आउन थालेको छ। पार्टी सचिव गोकर्ण विष्टले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश गरे कडा रूपमा प्रतिवाद गरिने स्पष्ट संकेत दिएका छन्।

महाधिवेशनको बन्द सत्रअघि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन्। उक्त बैठकमार्फत पदाधिकारी संख्या १९ र केन्द्रीय कमिटी सदस्य संख्या ३०१ पुर्‍याउने तयारी भइरहेको चर्चा चलिरहँदा पार्टीभित्र असहमति बढेको हो। विशेषतः वरिष्ठ नेता ईश्वर पोखरेल समूहले यसलाई विधानको मर्मविपरीत कदम भन्दै आपत्ति जनाएको छ।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको आकार यथास्थितिमै राख्ने निर्णय गरिसकेको थियो। तर सो निर्णयलाई छल्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटीमार्फत संरचना विस्तार गर्न खोजेको आरोप नेताहरूले लगाएका छन्।

गत भदौमा सम्पन्न विधान महाधिवेशनले पार्टीलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यसहित नेतृत्व संरचना घटाउने निर्णय गरेको थियो। अहिले सोही निर्णयलाई उल्ट्याउँदै ‘नेतृत्व व्यवस्थापन’ को नाममा फेरि संरचना फुलाउने प्रयास भइरहेको भन्दै असन्तुष्ट पक्षले यसलाई नीतिगत विचलनका रूपमा व्याख्या गरेका छन्।

बिहान ९ बजेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक तोकिएको समयमा सुरु हुन नसक्दा पार्टीभित्रको तानातान थप स्पष्ट देखिएको छ। बैठक ढिलाइ हुनु स्वयं नेतृत्वभित्रको असहमतिको संकेत हो कि भन्ने प्रश्न पनि उठ्न थालेको छ।