चितवन राइनोजले दोस्रो नेपाल प्रिमियर लिगमा विराटनगर किङ्सको अपराजित यात्रा रोक्दै ४८ रनको शानदार जित हात पारेको छ। लगातार तीन खेल जितेको विराटनगर चौथो खेलमा हार्दै ६ अंकमै रोकिएको छ भने लगातार दोस्रो जितसँगै चितवन ४ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
१ सय ७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमै १ सय २६ रनमा अलआउट भयो। सुरुवाती ब्याटिङ विफल हुँदा पावरप्लेभित्रै ४ विकेट गुमाएको विराटनगर खेलमै पछि पर्यो। चितवनका रन्जित कुमारले उत्कृष्ट बलिङ गर्दै ५ विकेट झारे। कमल ऐरीले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ७४ रन बनाएको थियो। रवि बोपराले ६५ रनको उत्कृष्ट पारी खेल्दै चितवनलाई उच्च योगफल दिलाए। कप्तान कुशल मल्ल २० रनमा अविजित रहे। विराटनगरका सन्दीप लामिछाने र मर्चेन्ट डि लाङ्गेले २–२ विकेट लिए।