काठमाडौं – पूर्वऊर्जामन्त्री एवं नेपाली काँग्रेसका नेता दिपक खड्काको कम्पनी खड्का ल्याण्डले प्रयोग गर्दै आएको लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनेका संरचनामा आज काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
यसअघि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले सो जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न ७ दिनको अल्टिमेटम दिँदै सूचना जारी गरेको थियो । तर दिइएको समयसीमा भित्र पनि संरचना खाली नगरेपछि आज महानगरले कारबाहीस्वरूप डोजर चलाएको हो ।
खड्का ल्याण्डले स्काउटको जग्गामा लैनचौर ब्याङ्क्वेट र माई च्वाइस नामक रेस्टुरेन्ट सञ्चालन गर्दै आएको थियो । त्यसैगरि सो कम्पनीले उक्त क्षेत्रका ४८ वटा सटर समेत विभिन्न व्यवसायिक प्रयोजनका लागि भाडामा दिएको पाइएको छ ।
काठमाडौँ महानगरले स्काउटको जग्गा अवैध रुपमा प्रयोग गरी आम्दानी गर्ने प्रवृत्तिलाई अन्त्य गर्न यो कारबाही गरिएको जनाएको छ । महानगरका अनुसार अबको चरणमा यस्ता सार्वजनिक जग्गा कब्जा गरी प्रयोग गरिएकामाथि निरन्तर कारबाही अघि बढाइनेछ ।