नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै संगठनात्मक तयारीलाई तीव्र बनाएको छ। यही प्रक्रियाअन्तर्गत पार्टीले क्रियाशील सदस्यता छानबिनका लागि नयाँ नेतृत्व तोकेको छ भने निर्वाचन व्यवस्थापन सुनिश्चित गर्न केन्द्रीय निर्वाचन समितिमा पनि सदस्य मनोनयन गरेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा सहमहामन्त्री महेन्द्र यादवलाई जिम्मेवारी दिएका छन्। समितिमा शिवप्रसाद हुमागाईं, गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र शान्ति परियार विक सदस्यका रूपमा रहनेछन्। यो विवरण पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सार्वजनिक गरिएको हो।
पार्टीको मंसिर १५ गते बसेको कार्यसमिति बैठकले १५औँ महाधिवेशनका लागि कार्यतालिका पारित गरेको थियो। त्यसैअनुसार सदस्यता व्यवस्थापन समितिबाट प्राप्त नयाँ तथा नवीकरण गरिएको सदस्यताको सूची, त्यसमा आएको उजुरी तथा समग्र प्रतिवेदनको छुट्टाछुट्टै अध्ययन गरी अन्तिम सूची तयार गर्ने जिम्मा छानबिन समितिलाई दिइएको छ।
यससँगै कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संरचना पनि अद्यावधिक गरेको छ। कार्यवाहक सभापति खड्काले समितिमा वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी र अधिवक्ता राजु कटुवाललाई सदस्यका रूपमा नियुक्त गरेका छन्।
कांग्रेसले पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन आयोजना गर्न लागेको छ। महाधिवेशन तयारीलाई व्यवस्थित बनाउन र प्रक्रिया सुस्पष्ट बनाउन गठन गरिएका यी दुई समितिलाई पार्टीभित्र महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।