काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले रास्वपाबाट निर्वाचित उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी तीव्र पारेका छन्। एमालेले आफ्ना सांसदहरुलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएर उपसभामुख रानालाई पदमुक्त गर्ने प्रस्तावका लागि हस्ताक्षर अभियान सुरु गरेको छ। संसदीय दलको कार्यालयमा अहिले पनि सांसदहरूले हस्ताक्षर गरिरहेका छन्।

यस्तै, नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरुलाई आज दिउँसो १२ बजे संसदीय दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। त्यसअघि कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ। यसअघि हिजो साँझ बालुवाटारमा बसेको कांग्रेस–एमाले नेताहरूको बैठकले उपसभामुख रानालाई हटाउनेबारे सहमति जुटाएको बुझिएको छ। संवैधानिक परिषद्मा कांग्रेसको प्रतिनिधित्व सुनिश्चित गर्न इन्दिरा रानालाई पदमुक्त गर्न लागिएको हो। संवैधानिक परिषद्मा उपसभामुख स्वतः सदस्य हुने व्यवस्था छ।

यसअघि उनलाई महाअभियोग लगाउने तयारी भए पनि व्यापक आलोचना भएपछि दुई दल पछि हटेका थिए। तर अहिले फेरि उनलाई हटाउने प्रक्रिया अघि बढाइएको हो। रानामाथि आफ्नो पदीय मर्यादा उल्लंघन गर्दै पाँच जना व्यक्तिलाई भिसा अन्तर्वार्ताको समय उपलब्ध गराउन पत्र पठाएको आरोप लागेको छ।