झापा, दमक — झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच धकेलाधकेल भएको छ। दमक बजार क्षेत्रमा मनोनयन दर्ताका लागि जाँदै गर्दा दुई पक्षका कार्यकर्ताहरू आमनेसामने भएका थिए।प्रत्यक्षदर्शीका अनुसार सुरुआतमा एक पक्षले अर्को पक्षलाई गालीगलौज गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। त्यसपछि दुवै पक्षका कार्यकर्ताबीच केही समय धकेलाधकेल भएको थियो।
घटनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको र हाल अवस्था पूर्ण रूपमा सामान्य भइसकेको जनाएको छ। प्रहरीका अनुसार घटनामा कुनै गम्भीर चोटपटक वा ठूलो क्षति भएको छैन। प्रहरीले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै निर्वाचन प्रक्रियाका क्रममा शान्ति र सुरक्षामा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ।