दिल्लीको जुत्ता कारखानामा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते
भारतको राजधानी नयाँदिल्लीस्थित एक जुत्ता कारखानामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शुक्रबार राति करिब साढे ९ बजे मंगोलपुरी औद्योगिक क्षेत्रको फेज–१ स्थित जुत्ता कारखानामा आगलागी भएको हो।
आगलागीपछि कारखानाभित्र बेहोस अवस्थामा फेला परेका छ जनालाई उद्धार गरी सञ्जय गान्धी मेमोरियल अस्पताल पुर्याइएको थियो। तीमध्ये चार जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए भने दुई जनाको उपचार भइरहेको छ।
आगो नियन्त्रणका लागि दिल्ली अग्निशमन सेवाका २० वटा दमकल परिचालन गरिएको थियो। कारखानाको भुइँतलामुनिको भागबाट सुरु भएको आगोका कारण माथिल्ला तलासम्म बाक्लो धुवाँ फैलिएको थियो।
अग्निशमन टोलीले तेस्रो तलाको सिँढीबाट एक जना र चौथो तलाबाट पाँच जनाको उद्धार गरेको थियो। आगो नियन्त्रणमा आइसकेको छ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गर्दै कारखाना सञ्चालकलाई सोधपुछका लागि बोलाएको छ। आगलागीको कारण भने खुलिसकेको छैन।

