धादिङ — पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित चरौदी नजिकै चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजेतिर ग२ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको हो।

जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार दुर्घटनामा १७ जनाको ज्यान गएको पुष्टि भएको छ। प्रहरीका अनुसार मृतकमध्ये ४ जना महिला र १३ जना पुरुष रहेका छन्।राजमार्ग उद्धार व्यवस्थापन समितिका अध्यक्ष राजकुमार ठकुरीका अनुसार २३ जना घाइतेलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ।

घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्थानीयवासीको सक्रियतामा उद्धार कार्य जारी छ। रातिको समय र नदीको बहावका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको जनाइएको छ। दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।