नेकपा एमालेको आसन्न महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रियामा देखिएको विवाद अन्ततः कोशी प्रदेशका दुई जिल्ला—धनकुटा र ओखलढुंगामा—समाधान भएको छ। दुवै जिल्लामा भागबन्डाको आधारमा सर्वसम्मत रूपमा प्रतिनिधि टुंग्याइएको एमालेले जनाएको छ।
धनकुटामा राजेन्द्र राई पक्षले एकलौटी गरेको आरोप लगाउँदै इन्द्रमणि पराजुली समूहले केन्द्रमा उजुरी दिएको थियो भने ओखलढुंगामा ईश्वर पोखरेल नजिकको समूहले वर्चस्व जमाएको भन्दै ओली पक्षका नेताहरू असन्तुष्ट थिए। प्रदेश इन्चार्ज शेरधन राईसहितको नेतृत्वमा गरिएको छलफलपछि धनकुटाबाट १३ जना प्रतिनिधि चयन भएका छन्, जसमा खुला तर्फ निरेन तामाङ, मनोज राई, शिव आङ्ला, निरन राई, चिन्तन तामाङ, परशु नेपाल र खगेन्द्र राई छन्।
युवा कोटाबाट सरोज राई, दलित कोटाबाट नैन रुचाल र महिलातर्फ तुलसी राई, सम्झना आले मगर, निर्मला इभाङ लिम्बू तथा गोमा कार्की चयन भएका छन्, साथै दुई जनालाई मनोनयन गर्ने सहमति भएको छ। त्यसैगरी ओखलढुंगाबाट मोहनकुमार श्रेष्ठ, अस्मिता थापा, हर्कबोल राई र सकुन्तला राजभण्डारीसहित जीबी खड्का, अम्बिरबाबु गुरुङ, कमल न्यौपाने, इच्छाकुमारी गुरुङ, राजीव कटुवाल, रमिला मगर श्रेष्ठ, टीका धमला र ज्यानु कालिकोटे पनि सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधिमा परेका छन्।