इजरायलविरुद्धको जारी युद्धका बीच इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले एक्समार्फत इरानी जनतालाई दृढ सन्देश दिएका छन्। खामेनीले आफ्नो पोस्टमा लेखेका छन्, “यदि तपाईं शत्रुसँग डराउनुहुन्छ भने उनीहरूले तपाईंलाई छोड्ने छैनन्।” उनले हालसम्म इरानले प्रदर्शन गरेको शक्तिको निरन्तरताका लागि जनतालाई आह्वान गरेका छन्।
युद्ध र कूटनीति दुवै मोर्चामा सक्रिय इरानका उपविदेशमन्त्री सईद खातिबजादेहले बीबीसीसँगको अन्तर्वार्तामा इरान अमेरिकासँगको आणविक वार्ता सम्झौताको संघारमा रहेको खुलासा गरेका छन्। तर खातिबजादेहका अनुसार, सम्झौता हुनुअघि नै इजरायलले आफ्नो प्रक्रिया विफल पार्ने कोसिस गरेपछि इरानले जवाफस्वरूप आक्रमण सुरु गरेको हो।
इरानले गत आइतबार अमेरिकासँगको वार्ता रद्द गर्दै इजरायली आक्रमणको प्रतिउत्तरमा आफू लड्न बाध्य भएको स्पष्ट पारेको छ।
मध्यपूर्वमा तनाब झनै चुलिँदै गएको यो घडीमा खामेनीको अभिव्यक्ति र इरानको कूटनीतिक निर्णयले क्षेत्रीय परिस्थितिमा गहिरो प्रभाव पार्ने संकेत देखिएको छ।