राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हटाइएका संस्थापक महामन्त्री डा. मुकुल ढकालले आफूलाई पार्टीको विधिसम्मत महामन्त्री ठहर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनले बुधबार (असार ११) दायर गरेको रिट बिहीबार (असार १२) न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइको लागि परेकाे छ। इजलासमा उक्त रिट छैटौँ नम्बरमा परेको छ।

डा. ढकालले पार्टीको विधानअनुसार आफू अझै महामन्त्री भएको जिकिर गर्दै पार्टीको पछिल्लो कार्यसमिति र आफूलाई हटाइएको प्रक्रियामा त्रुटि भएको दाबी गरेका छन्। गत वर्ष रास्वपाले डा. ढकालमाथि “देशभर घुमेर बनाइएको रिपोर्ट” सार्वजनिक गरेको आरोपमा अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो। उक्त कारबाहीविरुद्ध उनी निर्वाचन आयोग पुगेका थिए। आयोगले उनलाई हटाएर बनाइएको कार्यसम्बन्धी कुनै जानकारी नरहेको उल्लेख गर्दै एक औपचारिक पत्र दिएको थियो।

त्यसको आधारमा डा. ढकालले पार्टीमा महामन्त्रीको हैसियतमा बैठक बोलाउने निवेदन दिएका थिए। तर रास्वपाले भने ढकाललाई पहिल्यै हटाइएको र सोबारे निर्वाचन आयोगमा जानकारी गराइसकेको जिकिर गर्दै उनी अब महामन्त्री नरहेको अडान लिएको थियो। पार्टी नेतृत्वबाट अलग गरिएपछि कानुनी उपचार खोज्दै सर्वोच्च पुगेका डा. ढकालको यो रिटले अब रास्वपाभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ। अब सर्वोच्चको फैसलाले यस विषयमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।