उच्च अदालत पाटनले विवादास्पद व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौंको पूर्व आदेश उल्टाउँदै यस्तो निर्णय गरेको हो।
तीनकुने घटनासँग सम्बन्धित मुद्दामा अदालतले प्रसाईसँग ३ लाख रुपैयाँ धरौटी माग गरेको छ भने बैंकिङ कसुरसम्बन्धी फरक मुद्दामा २५ लाख धरौटी तोकेको छ। यसअघि वाणिज्य इजलासले पनि उक्त मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको थियो। बैंकिङ कसुरमा प्रसाईमाथि १८ करोड ४४ लाख रुपैयाँको बिगो रहेको थियो।
प्रसाईसँगै कारागार चलान भएका अन्य तीन जना— सुशील बराल, तारा राजावादी भनिने सरोज गौतम र दण्डपाणि रेग्मीलाई पनि उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। बराल र गौतमलाई ५०–५० हजार र रेग्मीलाई १० हजार रुपैयाँ धरौटी तोकिएको छ।
त्यस्तै, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई जिल्ला अदालतले दिएको धरौटी आदेशलाई उच्च अदालतले सदर गरेको छ। उनीहरूलाई ३–३ लाख धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध सरकार पक्षले पुनरावेदन गरेपनि उच्च अदालतले त्यसलाई कायम राखेको हो।