आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ। निर्वाचन दिवस आउन ९० दिन बाकी छँदा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोग “पूर्ण रूपमा तयार” रहेको स्पष्ट पारेका छन्।
राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै भण्डारीले सरकारले मागअनुसार आवश्यक स्रोत र सहयोग उपलब्ध गराएको बताउँदै सञ्चालन हुँदै आएका कार्यक्रमहरू समयमै अघि बढिरहेको जानकारी दिए। उनका अनुसार, आयोगले प्रकाशित कार्यतालिका र प्राविधिक तयारीले निर्वाचनको वातावरण थप विश्वासिलो बनेको छ।
भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय छलफलमा आयोगले आफ्नो तयारीको प्रष्ट अभिव्यक्ति दिएको बताए। उक्त भेटमा राजनीतिक दलका प्रतिनिधि, सम्बन्धित मन्त्रीहरू तथा सुरक्षा निकायका शीर्ष अधिकारीहरू सहभागी थिए।
“हमिलाई सुरुमा केही बजेटको कमी थियो, तर अर्थ मन्त्रालयले आवश्यकताअनुसार थप रकम उपलब्ध गराउने आश्वासन दिएको छ,” भण्डारीले बताए। उनका अनुसार, अब आयोगले निर्धारित कार्यक्रम पूर्ण रूपमा अघि बढाउनेछ र सम्बन्धित सबै पक्षलाई यसको जानकारी गराइसकिएको छ।
निर्वाचनका लागि आयोगले करिब ७ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ, जसअन्तर्गत ५ अर्ब ९६ करोड रुपैयाँ पहिले नै सुनिश्चित गरिएको छ। यस्तै, आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिस्पर्धा गर्न इच्छुक राजनीतिक दललाई आवेदन दिन औपचारिक आह्वान गरिसकेको छ। आयोगका अनुसार मंसिर १४ सम्ममा १२० दलले प्राविधिक प्रक्रियाका लागि निवेदन दर्ता गराइसकेका छन्।