निर्वाचन आयोगले आवश्यक परेमा राजनीतिक दललाई देशभरका मतदाताको विवरण निश्चित शुल्क लिएर उपलब्ध गराउने व्यवस्था गरेको छ। आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरको मतदाता नामावली लिनका लागि रु १० हजार शुल्क तिर्नुपर्नेछ।

निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई दलको औपचारिक पत्रको आधारमा यस्तो विवरण उपलब्ध गराइने आयोगले जनाएको छ। आयोगले मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकका विवरण मात्र विद्युतीय रूपमा उपलब्ध गराउनेछ। उक्त विवरण हार्डड्राइभ वा पेनड्राइभमार्फत प्रदान गरिनेछ।

एउटा प्रदेशको मात्र मतदाता विवरण आवश्यक परेमा रु पाँच हजार शुल्क तिरेर लिन सकिने व्यवस्था गरिएको छ। यस्तै, निर्वाचन अधिकृतले कुनै मतदाता, दलको प्रतिनिधि वा उम्मेदवारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा सार्न चाहेमा नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाउने गरी हेर्न वा सार्न दिनुपर्नेछ।

फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले मात्र हेर्न सक्नेछन् भने फोटोबाहेकको मतदाता नामावली जोसुकैले पनि हेर्न सक्ने व्यवस्था गरिएको आयोगले जानकारी दिएको छ।

कुनै मतदाताले आफ्नो मात्र मतदाता नामावली लिन चाहेमा निर्वाचन कार्यालयले रु १० हजार शुल्क लिएर सो मतदाताको विवरण मात्र आउने गरी नामावलीको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ। त्यस्तै, आयोगमा दर्ता भएका राजनीतिक दललाई दलको पत्रको आधारमा र स्वतन्त्र उम्मेदवारलाई निवेदनको आधारमा जिल्लाभरको मतदाता नामावलीका लागि रु तीन हजार तथा निर्वाचनको कुनै एक निर्वाचन क्षेत्रको नामावलीका लागि पनि रु तीन हजार शुल्क तोकिएको छ।

तर, यस्तो विवरण उपलब्ध गराउँदा मतदाताको जन्ममिति, मोबाइल नम्बर र नागरिकताको विवरण भने दिन नपाइने आयोगले स्पष्ट पारेको छ।