सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहसँगै गएका पत्रकार दिनेश सिटौलाको स्वास्थ्यमा अचानक समस्या देखिएको छ। अछामको मंगलसेन जाने क्रममा अचानक बेहोस भएर ढलेपछि सिटौलालाई तत्काल अछाम जिल्ला अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि चिकित्सकहरूले थप उपचारका लागि काठमाडौं लैजान सुझाएका थिए।

त्यसपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत अछामबाट सुर्खेत पुर्‍याइयो। सुर्खेतबाट सेनाकै जहाजमार्फत उनलाई काठमाडौं ल्याइएको हो। वरिष्ठ नेता बालेन्द्र साहसहितको टोली रास्वपाका सहमहामन्त्री तथा अछामका उम्मेदवार भुपदेप शाहको निर्वाचन क्षेत्रमा पुग्ने क्रममा उक्त घटना भएको हो। पत्रकार सिटौलाको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।