काठमाण्डौ, टीयू मैदान– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा निरन्तर कायम राख्दै छैटौँ खेलमा चितवन राइनोजलाई ४९ रनले पराजित गरेको छ। सोसँगै रोयल्स प्लेअफको बलियो दाबीदारका रूपमा उभिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रनको प्रतिस्पर्धी स्कोर बनायो। ओपनर क्रिस लिनले शानदार ७५ रनको इनिङ खेल्दै टोलीका लागि आधार तयार पारे। उनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ‘रिटायर्ड हर्ट’ भएकै अवस्थामा मैदान छाडे। कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले अन्त्यसम्म टिकेर समान २४–२४ रन जोडी महत्त्वपूर्ण योगफल थपे।
चितवनका सैफ जैइवले २ विकेट झारे भने रञ्जित कुमार र जर्ज स्क्रिम्शले १/१ विकेट लिए। १७० रनको लक्ष्य पछ्याउने क्रममा चितवनको ब्याटिङ प्रतिस्पर्धात्मक रहेन। पुरै टोली १७.१ ओभरमा १२० रनमै समेटियो। चितवनका लागि रवि बोपारा २९ रनसहित सर्वाधिक स्कोरर बने। देव खनालले २८, कप्तान कुशल मल्लले १५ रन बनाएपनि टोलीलाई विजय दिलाउन सकेनन्।
सुदूरपश्चिमका बलर पुनित मेहराले ३ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इसान पाण्डेले १/१ विकेट झारे।
यो हारसँगै चितवनले एनपीएल–२ मा चौथो पराजय बेहोर्दै प्लेअफ प्रवेश गर्ने सम्भावना अझ जटिल बनाएको छ। सुदूरपश्चिम भने लगातार उत्कृष्ट प्रदर्शनसहित तालिकामा शीर्ष स्थान मजबुत बनाउँदै प्लेअफतिर अघि बढेको छ।