सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले अदम्य प्रदर्शन जारी राख्दै लगातार पाँचौं जित दर्ता गरेको छ। आज कीर्तिपुरमा साबिक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै सुदर प्ले–अफमा पुग्ने पहिलो र एक मात्र अपराजित टोली बनेको छ।

१ सय ४६ रनको लक्ष्य पछ्याएको सुदरले १७.४ ओभरमा ४ विकेटको क्षतिमा सहज जित हात पार्यो। खराब सुरुवातसँगै २८ रनमै २ विकेट गुमाए पनि विनोद भण्डारी र इशान पाण्डेको ९२ रनको शान्दार साझेदारीले खेल सम्हालियो। इशानले ३३ बलमा ७ चौका र १ छक्का सहित अर्धशतक बनाउँदै ५६ रन जोडे। विनोद ४२ रनमा आउट भए। अन्त्यतर्फ हर्मितले लगातार तीन छक्का प्रहार गर्दै टीमलाई जित दिलाए।

बलिङमा अविनाश बोहराले घातक स्पेल प्रस्तुत गर्दै ४ विकेट झारे। स्कटले ३ तथा सदाकत र सञ्जयले १–१ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको जनकपुरले ८ विकेट गुमाउँदै १ सय ४५ रन बनायो। सञ्जय कृष्णमुर्तिले ५१ रनको आकर्षक पारी खेल्दा लोफ्टीले ३९ रन जोडे। तर जनकपुरले निरन्तर विकेट गुमाउँदै उच्च साझेदारी निर्माण गर्न नसक्दा हार बेहोर्नुपर्यो। कप्तान पार्नेल सहित पाँच खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्।

यो हारसँगै जनकपुरको प्ले–अफ यात्रा अब गणितीय सम्भावनामा मात्र सीमित छ भने सुदूरपश्चिम १० अंक सहित शीर्षस्थानमा उभिएको छ। आजै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ३ विकेटले हराउँदै आफ्नो प्ले–अफ सम्भावना जिउतै राखेको छ।