मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले यातायात व्यवस्था ठप्प बनाएको छ। नेपाल प्रहरीको सोमबार बिहान १० बजे सार्वजनिक विवरणअनुसार हाल देशभर ८ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् भने ५ वटा राजमार्ग एकतर्फी मात्र सञ्चालनमा रहेका छन्। कोशी, बागमती र कर्णाली प्रदेश सबैभन्दा बढी प्रभावित बनेका छन्।

बागमती प्रदेशमा सबैभन्दा बढी असर
बागमती प्रदेशका ४ वटा मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल–चीन जोड्ने पुल बगाउँदा यातायात सम्पर्क ठप्प बनेको छ। पासाङ ल्हामु सडक खण्डसमेत पहिरोले बन्द भएको छ।
सिन्धुपाल्चोकको कोदारी (भोटेकोशी–२) मा पहिरो खसेपछि अरनिको राजमार्ग अवरुद्ध छ। त्यस्तै, नुवाकोटको शिवपुरी–४ चालिसेमा पनि मध्य–पहाडी लोकमार्ग पहिरोले बन्द भएको छ।

कर्णाली प्रदेशमा ३ सडक पूर्ण अवरुद्ध
रुकुम पश्चिमको आठबिसकोटमा बाढीले भेरी करिडोर अवरुद्ध बनाएको छ, जसले जाजरकोट–डोल्पा जोड्ने यातायात ठप्प पारेको छ। हुम्लाको सिमकोटमा कर्णाली करिडोर र जाजरकोटको छेडागाडमा मध्य–पहाडी राजमार्गसमेत पहिरोले बन्द छ।

कोशी प्रदेशमा कोशी राजमार्ग अवरुद्ध
संखुवासभाको भोटखोला–८ बरुणमा लगातारको वर्षाले कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

यी राजमार्गहरू एकतर्फी मात्रै सञ्चालनमा
काठमाडौँ–नुवाकोट सडक (टोखा–२)
कालीगण्डकी करिडोर: बागलुङको बानपा–१० दब्ल्याङ र नवलपरासीको गैँडाकोट–३ तरङखोला
बेनी–जोमसोम सडक: मुस्ताङको थासाङ–४ घोप्टेभिर
सहिद राजमार्ग: रोल्पाको परिवर्तन गाउँपालिका–५ ग्रामजिम र धामाचौर

प्रहरीले प्रभावित क्षेत्रमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। लगातारको वर्षा कायमै रहेकाले सडक अवरुद्ध अझ बढ्न सक्ने अनुमान गरिएको छ।