नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर पुगेका छन् । उनीसँगै उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सिंगापुर पुगेकी छन् । स्रोतका अनुसार देउवा दम्पती सोमबार राति ११ बजेको उडानमार्फत काठमाडौंबाट सिंगापुर गएका थिए । विमानस्थलमा उनीहरू देखिँदा सभापति देउवा ह्विलचेयरमा थिए, जसले उहाँको स्वास्थ्य अवस्था अझै पूर्ण रूपमा सामान्य नभएको संकेत गर्दछ ।
देउवा दम्पती हालको स्वास्थ्य समस्याको कारण भदौ २४ गतेको घटनालाई मानिन्छ । सो दिन जेन जेड आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित देउवाको निवासमा आक्रमण गरेका थिए । आन्दोलनकारीहरूले घरमा आगजनी र तोडफोड समेत गरेका थिए ।
आक्रमणका क्रममा सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो । त्यसैगरी तत्कालीन परराष्ट्रमन्त्री राणालाई पनि भीडले लछारपछार गरेको थियो । त्यसबेला नेपाली सेनाले उद्धार गरी दुवैको तत्काल उपचार गरेको थियो । स्वास्थ्यमा सुधारपछि देउवाले असोज २८ गते सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई केन्द्रीय समिति बैठकमा धारणा राखेका थिए ।
सो बैठकमा उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । पार्टी निकट स्रोतहरूका अनुसार देउवाको स्वास्थ्य अहिले स्थिर भए पनि चिकित्सकको सल्लाहअनुसार थप उपचार र स्वास्थ्य परीक्षणका लागि सिंगापुर पुगेका हुन् ।