काठमाडौँ — भ्रष्टाचार आरोपमा मुछिएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटी माग गरेको छ। बुधबार विशेष अदालतमा भएको थुनछेक बहसपछि नेपालसँग धरौटी माग गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकस्थित जग्गा हदबन्दी छुट दिँदै पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई गैरकानुनी रुपमा लाभ दिइएको आरोपमा गत जेठ २२ गते नेपालसहित २२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारका अनुसार सो प्रकरणमा राज्यलाई करिब १८ करोड ५८ लाख रुपैयाँ बराबरको क्षति पु¥याइएको छ। नेपाल प्रधानमन्त्री हुँदा मन्त्रीपरिषद्बाट निर्णय गराएर हदबन्दीको कानुनी सीमा उल्लंघन गरी पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको आरोप छ। अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित मन्त्री, सचिव, मालपोत कर्मचारीलगायत उच्च पदस्थ अधिकारीहरूलाई प्रतिवादी बनाएको छ। अदालतले बाँकी अभियुक्तहरूमाथि पनि क्रमशः थुनछेक बहस गर्ने जनाएको छ।