तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशूली नदी किनारमा भेटिएको ‘गणपति डिलक्स’ बसको उत्खनन कार्य मंगलबारदेखि स्थगित गरिएको छ।
उत्खनन सुरु भएको १७औँ दिनमा काम रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए। उनका अनुसार बसको केही भाग पानीबाट निकालिए पनि बाँकी भाग निकाल्न प्राविधिक समस्या आएपछि उत्खनन स्थगित गरिएको हो।
गत पुस २६ गते त्रिशूली नदी किनारमा बस फेला परेपछि पुस २७ गतेदेखि उत्खनन कार्य सुरु गरिएको थियो। उत्खननको सोह्रौँ दिन सोमबार बसको भित्री भागबाट मानव कङ्काल फेला परेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।
उक्त बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा लेदोसहितको पहिरोमा परी काठमाडौँबाट गौरतर्फ जाँदै गर्दा त्रिशूली नदीमा बेपत्ता भएको थियो। बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको सो बस करिब छ महिनापछि तनहुँतर्फ नदी किनारमा फेला परेको हो।