सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा कर्णाली याक्स प्ले अफ दौडबाट बाहिरिएको छ। लगातार पाँचौं हार व्यहोरेसँगै कर्णाली लिग चरणमै बाहिरिने पहिलो टोली बनेको हो।सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले कर्णालीलाई ३४ रनले पराजित गर्दै आफ्नो प्ले अफ सम्भावनालाई जीवित राख्न सफल भयो।
२ सय २ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमै सबै विकेट गुमाउँदै १ सय ६७ रनमा समेटियो। मार्क वाटले ५९ रन जोडे पनि अन्य खेलाडीले अपेक्षित योगदान दिन सकेनन्। कर्णालीले नियमित अन्तरालमा विकेट गुमाउँदै दबाब झेल्न बाध्य भयो। पोखरातर्फ ऋषि धवन र धनन्जय लक्सनले समान ३ विकेट लिए। कुशल भुर्तेल, किरण ठगुन्ना र सन्दीप क्षेत्रीले १–१ विकेट हात पारे।
यसअघि टस जितेर पहिले बलिङ रोजेको कर्णालीविरुद्ध पोखराले २० ओभरमा २ विकेटको क्षतिमा २ सय १ रन बनायो। एडम रोसिङ्टनले ५४ बलमा शतक प्रहार गर्दै ११ चौका र ६ छक्का प्रहार गरे। जेसन रोयले ४६ रनको साथ उत्कृष्ट समर्थन प्रदान गरे।
छ खेल खेलेको कर्णालीले केवल एक जित हात पारेको छ र दुई अंकसहित प्रतियोगिताबाट बाहिरिएको हो। पोखराले भने पाँच खेलमा दुई जितसहित चार अंक बनाउँदै प्ले अफमा प्रवेश गर्ने सम्भावनालाई कायमै राखेको छ। अब प्ले अफको दावेदारीमा ७ टोली मात्र रहेका छन्। मंगलबार विराटनगर किंग्स र लुम्बिनी लायन्सबीचको खेल हुनेछ।