नेकांग्रेसको १५औं महाधिवेशन भदौमा गर्ने प्रस्तावपाली कांग्रेसका सभापति गगन थापा ले आगामी भदौमा पार्टीको १५औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। राजीनामा अस्वीकृत भएपछि आज बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै उनले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन्।

विधानअनुसार विशेष महाधिवेशन भएको एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने प्रावधान रहेकाले सोही अनुसार तयारी अघि बढाइएको थापाले जनाएका छन्। उनी गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए।

थापाको प्रस्ताव अनुसार महाधिवेशनको प्रक्रिया वैशाख १ गतेदेखि सुरु हुनेछ भने भदौ २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन आयोजना गर्ने योजना छ। यद्यपि, महाधिवेशन हुने स्थान भने अझै टुंगो लगाइएको छैन।

प्रस्तावित कार्यतालिका:
• वैशाख: क्रियाशील सदस्यता नवीकरण र वितरण
• असार: सदस्यता छानबिन र सूची हस्तान्तरण
• साउन: वडा, गाउँ–नगर, प्रदेश र प्रतिनिधि सभा क्षेत्र अधिवेशन
• भदौ ६–७: जिल्ला अधिवेशन
• भदौ १५–१६: प्रदेश अधिवेशन
• भदौ २४–२६: केन्द्रीय महाधिवेशन

कांग्रेसको जारी केन्द्रीय समिति बैठकले अन्तिम मिति र तालिका अनुमोदन गर्ने अपेक्षा गरिएको छ।