झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा ग्यास उत्खनन भइसकेको दाबी गर्दै त्यसलाई सदुपयोग गरी घर–घरमा पाइपमार्फत वितरण गर्नुपर्ने बताएका छन्।

सोमबार झापाको गौरीगञ्जमा स्थानीय मतदातासँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालमै ग्यास उपलब्ध हुँदै गएको अवस्थामा विदेशबाट आयातित ग्यासमा निर्भर रहिरहनु नपर्ने बताए। उनले उत्खनन भइसकेको ग्यास प्रयोगमा ल्याएर जनताको जीवन सहज बनाउन सकिने धारणा राखे।

अध्यक्ष ओलीले भने, “अब नेपालमै ग्यास निस्कँदै छ। त्यो ग्यास बाल्नुपर्छ। विदेशबाट ल्याएको ग्यास मात्रै किन बाल्ने ? अहिले कतै ताला लगाएर ग्यास थन्क्याएर राखिएको छ। त्यो ग्यास निकाल्नुपर्छ र पाइपमार्फत घर–घरमा पुर्‍याउन सकिन्छ।”

त्यस्तै, केही दिनअघि आफूले गोबर र गुँइठा बाल्ने अवस्थाबाट विकास हुँदै बिजुली बाल्ने अवस्थामा पुग्नुपर्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै ओलीले त्यसलाई केहीले गलत ढंगले तोडमोड गरेकोप्रति आपत्ति जनाए। उनले विकासका विषयमा बोलेका कुरालाई नियोजित रूपमा बङ्ग्याइएको बताए।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका अध्यक्ष ओली पछिल्लो समय झापामा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद र छलफललाई तीव्र बनाइरहेका छन्।