स्थानीय बजारमा सुन तथा चाँदीको मूल्यमा बिहीबार सामान्य गिरावट आएको छ। विगत चार दिनदेखि निरन्तर बढ्दै आएको सुन र चाँदीको मूल्य आज केही घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच हजार ४८५ रुपैयाँ कायम भएको छ।

बुधबार सुन प्रतितोला दुई लाख ७८ हजार रुपैयाँ र चाँदी पाँच हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, मंगलबार सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ र चाँदी पाँच हजार ३४० रुपैयाँमा किनबेच भएको महासङ्घले जनाएको छ। गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार चार हजार १०० रुपैयाँले बढेर दुई लाख ७४ हजार ७०० रुपैयाँ पुगेको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ६३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।