काठमाडौं महानगरपालिकाले तीनकुने क्षेत्रमा भएको तोडफोड र फोहोरको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि आयोजित प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले प्रहरी घेरा तोड्ने प्रयास गर्दै निजी घर, सुपरमार्केट, सञ्चार गृह, जडिबुटी प्रशोधन केन्द्र र सरकारी गाडीमा आगजनी तथा तोडफोड गरेका थिए। आगो निभाउन गएका दमकलहरूमा समेत ढुंगा प्रहार भएको थियो।
महानगरपालिकाको टोलीले शनिबार तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी सरसफाइ र मर्मत सम्भारको खर्च पूर्वराजा शाहबाट असुल गर्ने निर्णय गरेको हो। यसअघि पनि विभिन्न दल र समूहहरूले आयोजना गरेका प्रदर्शनहरूमा भएको क्षतिको लागि महानगरपालिकाले जरिवाना तोक्ने गरेको थियो।