हर्कराज साम्पाङ राई ले घण्टी चुनाव चिह्न प्रयोग गर्ने दललाई ‘नयाँ’ भन्न नमिल्ने बताएका छन्। शनिबार ललितपुरको जावलाखेलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूलाई नयाँ दल भन्दै प्रचार गर्ने शक्ति वास्तवमा पुरानै राजनीतिक संस्कृतिको निरन्तरता भएको दाबी गरे। उनले भने, “घण्टी बजाउँदै आएको दलले आफूलाई नयाँ भन्दै आएको छ, तर त्यसका सभापति दुई पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका व्यक्ति हुन्। त्यसैले उक्त दललाई नयाँ भन्न मिल्दैन।”
साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने गृहमन्त्री रहँदा सहकारी ठगी प्रकरणमा मुछिएको विषय उठाउँदै दोष सम्पूर्ण रूपमा जीबी राई माथि थोपर्ने प्रयास भएको आरोप लगाए। उनले देश निर्माणको मुख्य जिम्मेवारी युवाहरूको काँधमा रहेको उल्लेख गर्दै उत्पादन र विकासमा केन्द्रित योजनामार्फत युवाशक्तिलाई सशक्त बनाउने पार्टीको लक्ष्य रहेको बताए।