देशका धेरै स्थानमा भोलिबाट मनसुन थप सक्रिय हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) पनि देशका केही भागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने छ।

काठमाडौं उपत्यकामा पनि दिउँसो र राति वर्षा हुने सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए। “राति पानी परे पनि बिहान खुलेको जस्तो देखिन्छ, तर दिउँसो १२/१ बजेदेखि फेरि वर्षा हुन सक्छ,” उनले खोजसमाचारसंग भने।

वाग्मती प्रदेशअन्तर्गतका सिन्धुपाल्चोक र दोलखा जिल्लाका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, भोलिबाट देशभर वर्षाको मात्रा बढ्दै जाने र केही ठाउँमा ‘धेरै भारी वर्षा’ समेत हुन सक्ने विभागको अनुमान छ।

खडेरीले पिरोलिएको मधेस र लुम्बिनी प्रदेशका दक्षिणी भूभागमा पनि यसपटक वर्षा हुने देखिएको छ। अहिलेसम्म पानी नपरेकाले यी क्षेत्रमा धान रोप्न समेत नसकिएको र रोपिएको धान पनि सुक्न थालेको पृष्ठभूमिमा यो वर्षा निकै महत्त्वपूर्ण हुने मौसमविद्हरू बताउँछन्।

सरकारले तराईलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको सन्दर्भमा आउन लागेको वर्षा कृषक र बासिन्दाहरूका लागि राहतको संकेत बनेको छ। विभागले सावधानी अपनाउन आग्रह गर्दै सम्भावित बाढी, पहिरो र डुबान जोखिममा सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।