काठमाडौँ । होली पर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिहानैदेखि प्रहरीले कडा सुरक्षा जाँच सुरु गरेको छ। सम्भावित अवाञ्छित र उच्छृङ्खल गतिविधि रोक्न उपत्यकाका मुख्य चोक तथा गल्लीहरूमा चेकिङको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, सार्वजनिक स्थानमा जबरजस्ती रंग दल्न, मदिरा सेवन गरी होहल्ला गर्न र महिला तथा बालबालिकामाथि दुर्व्यवहार गर्नेलाई कडा कारबाही गरिनेछ। विशेष गरी भीडभाड हुने क्षेत्रहरूमा सादा पोसाकका प्रहरी पनि परिचालन गरिएको छ।
यसैबीच, ट्राफिक प्रहरीले होलीका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही गर्न विशेष अभियान थालेको छ। जथाभावी पानी वा रंग छ्याप्ने गतिविधिमा संलग्न पाइए तुरुन्तै कानुनी कारबाही हुने प्रहरीले जनाएको छ।
सुरक्षा निकायले शान्तिपूर्ण र मर्यादित रूपमा होली मनाउन आग्रह गर्दै नियम उल्लङ्घन गर्नेविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ।